मन्त्री उमाकान्त चौधरी जर्मनीतिर लागेपछि राज्यमन्त्री खड्गबहादुर बस्याल हेलिकोप्टरमा जाजरकोट पुगे, तर औषधि बोकेका खच्चड गाउँ पुगेका छैनन्वीरबहादुर, ठाकुरसिंह जाजरकोट, नेपालगन्ज, १७ साउनमहामारी प्रभावित क्षेत्रमा मन्त्री र नेताहरूका हेलिकोप्टर घुमेकाघुम्यै छन्, औषधि नपाएर सर्वसाधारण जनता मरेकामर्यै छन् । शुक्रबार र शनिबार पनि स्वास्थ्य राज्यमन्त्री खड्गबहादुर बस्याललाई बोकेर हेलिकोप्टर झाडापखालाले ग्रस्त जाजरकोटको आकाशमा उडिरह्यो, तर जीवनजल बोकेका खच्चड भने गाउँ कहिले पुग्ने हुन्, पत्तो छैन ।राज्यमन्त्री बस्याल हेलिकोप्टरमा उडिरहेका थिए, झाडापखालाले ग्रस्त जनता औषधि नपाएर छटपटाइरहेका थिए । शनिबार मात्र पनि जाजरकोटको नायकबाडा- ८ का पृथ्वीबहादुर महतरा र भगवती गाविस- ६ की शाही थरकी महिलाको मृत्यु भएको छ ।जाजरकोटका स्वास्थ्य प्रमुख डा. कृष्णहरि सुवेदी औषधि बोकेका खच्चड गाउँतिर गइरहेको बताउँछन् । तर, सदरमुकामबाट प्रभावित क्षेत्रमा पुग्न खच्चडलाई तीन दिन लाग्छ । मन्त्रीका हेलिकोप्टर भने छिनछिनमा उड्दै छिनछिनमा बस्दै गरेका छन् ।'हेलिकोप्टरले त औषधि बोक्नुपर्ने हो, मन्त्री बरु खच्चडमा आए पनि हुने हो,' जाजरकोटको मजकोट गाविसका पूर्वअध्यक्ष वेदबहादुर शाहीले आक्रोश पोखे, 'बिरामी परेको तीन घन्टामै मान्छेको मृत्यु हुन्छ । खच्चडबाट औषधि तीन दिनपछि पुर्याएर के गर्नु ?''नेताहरू आकाशमा घुम्छन् जान्छन् । तल हामी औषधि नपाएर मर्ने भयौँ । सरकारले नेता घुमाउनुभन्दा औषधि पुर्याए हामी अकालबाट जोगिने थियौँ,' नायकबाडा- ९ का मानबहादुर चलाउनेले गुनासो गरे ।सेनाको हेलिकोप्टरले औषधि सदरमुकामसम्म पुर्याउने गरेको छ । तर, प्रभावित क्ष्ाेत्रमा औषधि पुर्याउने जिम्मा खच्चडको छ । कतिपय गाउँमा त खच्चडले पनि औषधि पुर्याउन सकेको छैन । जिल्ला स्वास्थ्य प्रमुख डा. सुवेदी नै भन्छन्, 'कतिपय ठाउँमा खच्चड जाने बाटो पनि छैन । कसरी पुर्याउने औषधि ?,' उनले प्रतिप्रश्न गरे । छिटो औषधि पठाउन सके महामारी छिटो नियन्त्रण हुन्छ भन्ने जानेरै पनि समयमा औषधि पुर्याउन नसकिएको उनले पनि स्विकारे ।खच्चड पुग्न नसक्ने गाउँमा भरिया लगाएर औषधि पुर्याउने प्रयास भइरहेको सुवेदीले बताए । 'मान्छेले नै बोेकेर जाने ठाउँमा त एक साताभन्दा बढी लाग्छ,' उनले भने ।वैशाखको दोस्रो सातादेखि झाडापखाला र हैजाको महामारी फैलिएपछि जाजरकोटको विभिन्न गाउँमा प्रधानमन्त्री, मन्त्री र राजनीतिक दलका नेताहरू हेलिकप्टरमार्फत भ्रमण गर्दै आएका छन् । जाजरकोटमा हेलिकोप्टरमार्फत प्रधानमन्त्री माधवकुमार नेपाल, स्वास्थ्यमन्त्री उमाकान्त चौधरी, तत्कालीन स्वास्थ्यमन्त्री गिरिराजमणि पोख्रेल, माओवादी वरिष्ठ नेता डा. बाबुराम भट्टराईलगायत पुगेका छन्, तर रित्तो हात ।हेलिकोप्टर चढेर केही दिनअघि खलंगा पुगेका स्वास्थ्यमन्त्री उमाकान्त चौधरीसमक्ष जिल्लावासीले आक्रोश पोखेका थिए । झाडापखालाको महामारीले जनता मरिरहँदा पनि मन्त्रीहरू 'टुरिष्ट'को रूपमा रमिता हेर्न मात्र जिल्ला आएको गुनासो उनीहरूको थियो । तर, काठमाडौं पुगेर औषधि ल्याउने वाचा गरेर फर्किएका मन्त्री चौधरी जर्मनीतिर हानिएका छन् । उनको सट्टा जिल्ला पुगेका राज्यमन्त्री बस्यालले एक क्विन्टल औषधि लगेका थिए । तर, जिल्लाभरि नै महामारी फैलिएकाले त्यो औषधि नाम मात्रको भएको छ ।'त्यति औषधिले पुग्दैन । निक्कै धेरै चाहिन्छ,' जिल्ला स्वास्थ्य प्रमुख डा. सुवेदीले भने, 'खच्चडबाट पठाइएको औषधि पुग्छ-पुग्दैन थाहा छैन, त्यसैले सरकारले औषधि पुर्याउनका लागि वैकल्पिक व्यवस्था तत्काल मिलाउनुपर्दछ ।नयाँ पत्रिका
मन्त्री आकाशमा औषधि खच्चडमा
Posted by enbeeone3 1022 days ago (http://avimatpatra.blogspot.com)Who Voted for this Story
MEROLINKS is link/url /story submitting site where users can earn revenue by submitting links!!!











Comments